महोत्तरी । निरन्तरको चिसोका कारण सदरमुकाम जलेश्वरको प्रादेशिक अस्पतालमा श्वासप्रश्वासका बिरामीको चाप बढेको छ । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएको छ ।
अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बितेका सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेको बताए । अत्यधिक चिसोले गर्दा दमका बिरामी बढेको उनले बताए । उपचारार्थ आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका बढी छन् ।
बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीपकुमार ठाकुरले बर्दिबास अस्पतालमा पनि माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेको जानकारी दिए । यहाँ उपचारार्थ आउनेमा महिलाको सङ्ख्या बढी रहेको डा. ठाकुरले बताए । जिल्लाका गौशाला र दक्षिवर्ती सम्सीस्थित प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिए ।