वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएको छ घण्टाभित्रै पूर्वराष्ट्रपति बाइडेनका ७८ निर्णय उल्टाएका छन् । शपथग्रहणपछि ट्रम्प क्यापिटल वन एरिना पुगेका थिए । यहाँ उनले बाइडेनका निर्णयहरू उल्टाउनेसहित जनताको अगाडि धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले तेस्रोलिङ्गी समुदायलाई समानतासम्बन्धी बाइडेनको आदेशलाई उल्टाएका छन् । यसबाहेक अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिरिने आदेश पनि दिएका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकालाई यस सम्झौताबाट बाहिर निकालेका थिए, जुन पछि बाइडेनले उल्टाए ।
यसपछि डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुगेका थिए । त्यहाँ पनि उनले धेरै कार्यकारी आदेशमा हस्ताक्षर गरे । जसमा जनवरी ६ मा भएको हिंसाका दोषीहरूलाई माफी दिने र रिहा गर्ने र विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई निष्कासन गर्ने आदेश समावेश छ । ट्रम्पले फेब्रुअरी १ देखि क्यानडा र मेक्सिकोमा नयाँ कर लगाउनेछन् । ट्रम्पले छिमेकीहरूमाथि २५ प्रतिशतसम्म कर लगाउने बताएका छन् ।
गैरकानुनी आप्रवासीहरूलाई निष्कासन गर्ने, बालबालिकाको नागरिकता खारेज गर्ने, अमेरिकालाई डब्लूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिर निकाल्ने जस्ता निर्णयहरू छन् । ट्रम्पले एक सय ५० वर्ष पुरानो जन्मजात नागरिकता दिनेसम्बन्धी कानुन खारेज गर्ने घोषणा गरेका छन् । ट्रम्पले मेक्सिको सीमामा सङ्कटकाल लगाउने र अवैध प्रवेशलाई प्रतिबन्ध लगाउने कुरा गरेका छन् ।