काठमाडौँ । इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट यस वर्ष पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगञ्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी, बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक, राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन् तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साका पब्लिक हेल्थ नर्सिङ अधिकृत मीरा कुमारी यादव र पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया रहेका छन् ।
दुई सय ५० जनाको प्रत्यक्ष सहभागीता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रसारण १० हजारभन्दा बढी व्यक्तिले हेरेका थिए । पाँच जना आइकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्लास्थित सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड प्रदान गरिएको हो ।
इन्केग्रिटी आइकनबाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिँदै निर्वाचन आयोगका भूतपूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सार्वजनिक सेवामा रहेर असल आचरणलाई आत्मसाथ गरेर काम गर्दैगर्दा पनि कहिलेकाँही प्रोत्साहन नमिल्न सक्ने बताए । यसले काम गर्दा निराश पनि बनाउन सक्छ, तर निष्ठाका आधारमा काम गनुपर्नेमा उनले जोड दिए ।