काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेपभन्दा ऋण लगानी धेरै देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको अर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१को अन्तिमसम्म बैंकहरूले एक खर्ब ४९ अर्ब ४६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । सो अवधिसम्म एक खर्ब ५२ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
आर्थिक वर्ष २०८९/८१मा बैंकहरूको निक्षेप सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ३२ प्रतिशत बढेको छ । यस्तै कर्जा प्रवाह शून्य दशमलव ७५ प्रतिशत बढेको छ ।
बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी ४७ दशमलव ८५ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम दुई दशमलव ३९ प्रतिशत छ । त्यसैगरी, समीक्षा वर्षसम्म अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६९ दशमलव १३ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् शून्य दशमलव ९९ प्रतिशत प्रतिशत छ ।
२०८१ असार मसान्तसम्म कुल निक्षेपकर्ताको संख्या २०८० असार मसान्तको तुलनामा १० दशमलव ३४ प्रतिशतले बढेर ३७ लाख ९१ हजार आठ सय ६४ पुगेको छ । यस अवधिमा कुल ऋणीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा चार दशमलव ३० प्रतिशतले बढेर एक लाख चार हजार ५३ पुगेको देखिन्छ । सुुदूरपश्चिम प्रदेशमा २०८१ असार मसान्तसम्म विपन्न वर्गमा प्रवाह भएको कर्जा २०८० असार मसान्तको तुलनामा एक दशमलव ३९ प्रतिशतले घटेर ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा तीन प्रतिशतले घटेको थियो । यसैगरी, २०८१ असार मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तको तुलनामा २९ दशमलव ६२ प्रतिशतले घटेर छ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा आठ दशमलव ३९ प्रतिशतले घटेको थियो । समिक्षा अवधिमा पुनरकर्जा पाँच करोड ६० लाख प्रवाह भएको ।
सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका तीन सय २९, विकास बैंकका ५२, फाइनान्स कम्पनीका छ तथा लघुवित्त वित्तीय संस्थाका चार सय ६९ गरी जम्मा आठ सय ५६ वटा शाखाहरू सञ्चालनमा छन् । सोमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी तीन सय ६६ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २८ शाखा सञ्चालनमा छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंकका तीन सय ३०, विकास बैंकका ५२, फाइनान्स कम्पनीका पाँच तथा लघुवित्त वित्तीय संस्थाका चार सय ५९ गरी जम्मा आठ सय ४६ वटा बैंक तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।