काठमाडौं । फाइनान्स कम्पनीहरू सङ्कटपूर्ण अवस्थामा रहेको देखिएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूमध्येमा हालसम्म १५ वटाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये आठवटाले सामान्य नाफा कमाएका छन् भने सातवटा नोक्सानीमा छन् ।
सबैभन्दा बढी नाफा मञ्जुश्री फाइनान्सले कमाएको छ भने सबैभन्दा बढी निष्क्रिय कर्जा जानकी फाइनान्सको रहेको छ । जानकी फाइनान्स समस्याग्रस्त छ । मञ्जुश्रीले यस वर्ष गत पुस मसान्तसम्म ११ करोड ७० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ भने निष्क्रिय कर्जा तीन दशमलव ८६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा मञ्जुश्रीले १० करोड ५४ लाख ७० हजार रुपैयाँ नाफा कमाउँदा तीन दशमलव ४० प्रतिशत निष्क्रिय कर्जा थियो । जानकी फाइनान्सले २४ करोड ८२ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ भने निष्क्रिय कर्जा ४० दशमलव ८० प्रतिशत छ । गत आर्थिक वर्षमा जानकीले १९ लाख रुपैयाँ नाफा कमाउँदा १९ दशमलव ९९ प्रतिशत निष्क्रिय कर्जा थियो ।
आईसीएफसी फाइनान्सले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड १९ लाख ३२ हजार रुपैयाँ नाफा कमाउँदा तीन दशमलव शून्य सात प्र्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आईसीएफसीले पाँच करोड ३२ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा दुई दशमलव २१ प्रतिशत थियो ।
प्रोग्रेसिभ फाइनान्सले पनि यस वर्ष पहिलो छ महिनामा आठ करोड ५३ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सात दशमलव ५७ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रोग्रेसिभले १० करोड ५७ लाख ५० हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा १२ दशमलव ४५ प्रतिशत निष्क्रिय कर्जा थियो । नेपाल फाइनान्स, मल्टीपर्पसन फाइनान्स र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा क्रमशः दुई करोड पाँच लाख चार हजार, दुई करोड तीन लाख ८२ हजार र एक करोड ४१ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः १० दशमलव ४६, पाँच दशमलव ४५ र तीन दशमलव ७१ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यी फाइनान्सहरूले क्रमशः आठ लाख १२ हजार, एक करोड १२ लाख ४९ हजार र दुई करोड ५६ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः १० दशमलव ५२, एक दशमलव ४८ र एक दशमलव ९४ प्रतिशत निष्क्रिय कर्जा थियो ।
गुडविल र सेन्ट्रल फाइनान्सले पछिल्लो अवधिमा क्रमशः एक करोड चार लाख ८९ हजार र ३४ लाख ९० रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः छ दशमलव ७७ र ११ दशमलव शून्य चार प्रतिशत निष्क्रिय कर्जा थियो । गत आर्थिक वर्षको सोही अवधिमा गुडविलले दुई करोड २८ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सेन्ट्रलले चार करोड ७६ लाख ४६ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । यस अवधिमा यी दुई फाइनान्समा क्रमशः पाँच दशमलव २३ र नौ दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय थियो । यस्तै, गोर्खाज फाइनान्सले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ लाख ९८ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा तीन दशमलव शून्य छ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो फाइनान्सले १२ करोड १६ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव ६१ प्रतिशत निष्क्रिय कर्जा थियो ।
रिलायन्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा क्रमशः ११ करोड ९७ लाख ३९ हजार र दुई करोड १८ लाख ८१ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा क्रमशः १४ दशमलव ३१ र आठ दशमलव १८ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई फाइनान्सहरूले क्रमशः पाँच करोड ४७ लाख ६५ हजार र छ करोड ७० लाख ७० हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा क्रमशः चार दशमलव ९५ र छ दशमलव ४५ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ ।
पोखरा, बेष्ट र समृद्धि फाइनान्सले पनि पछिल्लो अवधिमा क्रमशः छ करोड ३७ लाख ९४ हजार, एक करोड ७२ लाख ६२ हजार र छ करोड २८ लाख २२ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा क्रमशः ३३ दशमलव ४४, तीन दशमलव ८६ र १९ दशमलव ३४ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पोखरा र बेष्टले क्रमशः दुई करोड १४ लाख ९३ हजार रुपैयाँ र एक करोड आठ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ७६ र तीन दशमलव ३२ प्रतिशत निष्क्रिय कर्जा थियो । उक्त अवधिमा समृद्धिले भने दुई करोड १३ लाख ४५ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा चार दशमलव ६८ प्रतिशत निष्क्रिय कर्जा थियो ।