पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन सुरु भएको छ । पोखराको हिमालयन गल्फ कोर्समा बुधबारदेखि सो प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन बुधबार निरज तामाङ दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । ४–अन्डर ६५ को स्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवन कुमार रोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन् । २–अन्डर ६७ कोस्कोरमा युवराज र भुवन संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन् । यस्तै, धनबहादुर थापा र सञ्जय लामाले १–अन्डर ६८ मा पहिलो दिनको खेल सकाए । उनीहरू संयुक्तरूपमा चौथो स्थानमा रहे । रामे मगर र जयराम श्रेष्ठले छैटौँ स्थान बाँडे । प्रदीप कुमार लामा र एमेच्योर सुन्दर राईले १–ओभर ७० मा खेल पुरा गर्दै संयुक्तरूपमा आठौं स्थानमा रहेका छन् । यस्तै, विष्णु प्रसाद शर्मा र एमेच्योर सुरेश तामाङ १०औँ स्थानमा रहे ।
यस्तै, एमेच्योरतर्फ सुन्दर राई १–ओभर ७० सहित शीर्षस्थानमा रहेका छन् । उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे । सुरेशले पहिलो दिन २–ओभर ७१ स्कोर गरे । ५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको कुल पुरस्कार आठ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले एक लाख ५० हजार रुपैयाँ तथा दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्नेछन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागू हुनेछ । शनिबार प्रो–एम प्रतियोगिता हुने जनाइएको छ ।