सोलुखुम्बु । कारागार कार्यालय सोलुखुम्बुका पुरुष कैदीबन्दीका लागि मुढा बनाउने सीपमूलक तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना र कारागार कार्यालयको समन्वयमा बुधबारबाट १५ दिने सीपमूलक तालिम सुरु गरिएको हो ।
तालिमले कैदीबन्दीहरूको जीवनमा नयाँ सिप र आशाको किरण प्रदान गर्ने अपेक्षा गरिएको छ । तालिममा ३३ जना पुरुष कैदीबन्दीले सहभागिता जनाएका छन् । बाँस र डोरीको प्रयोगबाट मानिस बस्न मिल्ने मुढा बनाउने तालिम प्रदान गरी उनीहरूलाई स्वरोजगार बन्ने क्षमता प्रदान गर्न लागिएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताए । सीपमूलक तालिमले कैदीबन्दीहरूलाई समाजमा पुनःस्थापित हुन सहयोग पुग्ने उनको विश्वास छ । ‘तालिमबाट प्राप्त सिपका कारण उनीहरूले सजिलै आर्थिक उपार्जन गर्न सक्नेछन्, जसले उनीहरूको जीवनलाई सही दिशा प्रदान गर्नेछ’, घिमिरेले भने ।
तालिमको शुभारम्भ कार्यक्रममा घरेलु कार्यालयका उद्योग अधिकृत नारायण प्रसाद खतिवडा, कारागार प्रमुख सरस्वती रेग्मी, सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द्र प्रसाद पोखरेल र जिल्ला प्रहरी कार्यालयका निरीक्षक प्रवीण श्रेष्ठको उपस्थिति रहेको थियो । तालिमले बाँस र डोरीको उपयोग गरेर मुढा बनाउने सीपमा मात्र नभई आत्मनिर्भर बन्ने सोचमा पनि बल पु¥याउने विश्वास गरिएको छ । यस तालिमले कैदीबन्दीहरूको खाली समयलाई उत्पादनशील बनाउन मद्दत गर्नुका साथै, आर्थिक लाभको अवसर प्रदान उद्योग अधिकृत नारायण प्रसाद खतिवडाले बताए ।