काठमाडौं । मोरङ उद्योग व्यापार संघले चिसो प्रभावितहरूका लागि कम्बल वितरण गरेको छ । संघका अध्यक्ष अनुपम राठीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बढ्दो चिसोबाट प्रभावित विपन्न परिवारहरूका लागि सहयोगस्वरूप एक सय थान कम्बल हस्तान्तरण गरेका हुन् ।
संघले प्रमुख जिल्ला अधिकारी यादव र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीलाई स्वागत गर्न आयोजित कार्यक्रममा सो सहयोग हस्तान्तरण गरेको हो । यस्तै, कार्यक्रममा संघका अध्यक्ष राठीले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब महानिरीक्षक समक्ष खुला सीमामा हुने गरेका अवैध व्यापार तथा चोरी पैठारी नियन्त्रण गर्न, स्वदेशी बजार संरक्षणार्थ पहल गर्न र अपराधरहित व्यावसायिक वातावरण निर्माण गर्न आग्रह गरेका थिए । यस्तै, सांस्कृतिक विकृति नियन्त्रण गर्न, लागुऔषध नियन्त्रण गर्न, अपराधमुक्त सामाजिक व्यवस्था सुनिश्चित गर्न, पर्यटन प्रवद्र्धनमा जोड दिन आग्रह गरे । साथै, कार्यक्रममा प्रशासनिक निकाय, सुरक्षा निकाय र उद्योगी÷व्यवसायीबीचको पारस्परिक सम्बन्धबाट विगतमा भएका उदाहरणीय कार्यहरूलाई समेत निरन्तरता दिन आग्रह गरिएको थियो ।