काठमाडौं । सामाजिक सुरक्षा कोषमा बिहीबारसम्म योगदान रकम ७२ अर्ब ५२ करोड रुपैयाँ सङ्कलन भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा उक्त योगदान रकम सङ्कलनमा २४ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ । असार मसान्तसम्म कोषमा योगदान रकमबापत ५८ अर्ब २९ करोड रुपैयाँ सङ्कलन भएको थियो ।
कोषका अनुसार बिहीबारसम्म औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत दुई अर्ब ५७ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार योजनाअन्तर्गत चार अर्ब ४४ करोड ९३ लाख, वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत ५८ अर्ब ९२ करोड ११ लाख, अतिरिक्त योगदानअन्तर्गत एक अर्ब २४ करोड ६७ लाख र प्रतिफलस्वरुप पाँच अर्ब ८९ करोड ८२ लाख गरी उक्त योगदान रकम सङ्कलन भएको छ ।
कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकममा वृद्धि भएको सामाजिक सुरक्षा कोषले बताएको छ । उनले कोषमा सूचीकृत हुने योगदानकर्ताहरूमध्ये सबैभन्दा धेरै औपचारिक, वैदेशिक, अनौपचारिक र स्वरोजगार रहेको बताए । कोष्मा पाँच लाख ५६ हजार पाँच सय ७३ जना योगदानकर्ता र २० हजार ४८ जना रोजगारदाता सूचीकृत भएका छन् । उनीहरूबाट उक्त योगदान रकम सङ्कलन भएको हो । अर्कोतर्फ बिहीबारसम्म औपचारिक ५६ अर्ब ८४ करोड ९४ लाख जना, वैदेशिक रोजगारीमा रहेका दुई अर्ब ६५ करोड ३३ लाख जना, अनौपचारिक २४ लाख ९२ हजार र स्वरोजगारमा रहेका ३९ लाख ३५ हजार जना योगदानकर्ता सूचीकृत भएका छन् । उनीहरूले उक्त योगदान रकम सङ्कलन गरेका हुन् ।
२०७५ मंसिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलनको थालनी गरेकोमा हालसम्म उक्त रकम सङ्कलन भएको उनको भनाइ छ । पछिल्ला समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुन पुगेको हो । कोषले २०८० चैत दोस्रो सातादेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको हो । अपौचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषयमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको बताइन्छ । त्यस्तै, कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ जसले गर्दा योगदानकर्ता, योगदान रकम बढ्न गएको कोषका अधिकारीहरू बताँउछन् । यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारमा रहेका व्यक्तिलााई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति पनि कोषमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको हो । अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा आबद्ध हुनेआउने क्रम चलिरहेको बताइएको छ ।
कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोहीअनुरुप काम गर्दै समेत आएको छ । सोही क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत एक अर्ब ६५ करोड ३७ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १६ करोड ५३ लाख, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २० करोड ११ लाख, वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १० अर्ब ६३ करोड ८५ लाख दाबी गरेका छन् ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ९० हजार छ सय १६ जना, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत चार हजार पाँच सय ८६ जना, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत छ सय १७ जना र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत ९७ हजार छ सय ९२ जनाले उक्त रकम दाबी भुक्तानी गरेका हुन् । कुल एक लाख ९३ हजार पाँच सय ११ जनाले पाँच लाख ६० हजार एक सय ९७ पटक उक्त रकम दाबी भुक्तानी गरेका हुन् ।
समीक्षा अवधिमा १२ अर्ब ६५ करोड कुल दाबी भुक्तानी परेको कोषले जनाएको छ । योजनाअनुरुप दाबी गरिएको रकम कोषले भुक्तानी गर्दै जाने गरेको छ । कोषले भुक्तानीको लागि मापदण्ड पूरा भए/नभएको अध्यययनपछि रकम निकासा गर्ने गर्छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढङ्गले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना, आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना र गत आर्थिक वर्ष २०८०/८१ मा नौ लाख ७९ हजार एक सय छ जना योगदानकर्ता सूचीकृत भएका थिए । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम सङ्कलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ ।
कोषले गर्ने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ वटा स्थानीयतहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको पाइन्छ । कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ । कोषले पछिल्लो समय भने ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा प्रदान गरेको थियो ।
‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । शैक्षिक सापटीअन्तर्गत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकास हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलनको थालनी गरेको थियो ।