काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औँ वार्षिकोत्सव समारोह माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा बिहीबार एक समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहेको तर अहिले सुधार हुँदै गएको बताए । अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सिर्जनामा अगाउन आग्रह गर्दै औसत कार्यभन्दा असाधारण कार्य गर्नको लागि अनुरोध गरे । उनले राष्ट्रिय वाणिज्य बैंक परिवारलाई अरू बैंकलाई उछिन्ने गरी कार्य गर्नका लागि शुभकामना दिए ।
अर्थमन्त्री पौडेलले बैंकको ६० औँ वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषांक स्मारिका उपहार २०८१ विमोचन गरिएको थियो । बैंकको ६० औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयहरूको बटम थिचेर डिजिटल माध्यमबाट औपचारिकरूपमा उद्घाटन गरे । प्रमुख अतिथि अर्थमन्त्री पौडेलले कार्यक्रममा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरूको स्वीच थिचेर डिजिलट माध्यमबाट उद्घाटन गरे कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोहअवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्न लायक भएको बताए । यो बैंकको पुँजीको विकासका लागि आउने प्रस्तावप्रति राष्ट्र बैंक उदार रहेको बताए । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकता प्राप्त क्षेत्र धनी घोषणा गरेका क्षेत्रहरूजस्तै कृषि, ऊर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताए । उनले यस बैंकले सुन खरिद बिक्री गर्ने कार्य समेत सुरु गरेको बताउँदै बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै हामीले भर्खरै आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पुस २९ गते १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको जानकारी गराए । २०८१ पुस मसान्तमा बैंकको कुल निक्षेप चार खर्ब ५० अर्ब, कुल कर्जा सापट दुई खर्ब ८४ अर्ब, चुक्ता पुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको छ । उनले २०८१ पुस मसान्तमा बैंकको कोषको लागत तीन दशमलव ८१ प्रतिशत तथा आधारदर पाँच दशमलव ४४ प्रतिशत रहेको बताए । उनले यसै आर्थिक वर्षबाट हामीले साना किसान कर्जा, वैदेशिक रोजगारी कर्जाजस्ता नयाँ कर्जामार्फत समस्त देशवासीमा आफ्नो सेवा विस्तार गर्ने र उत्पादन एवं स्वरोजगारलाई जोड दिई आय आर्जन वृद्धि गर्ने कार्यक्रमहरू ल्याएका छौ, उनले भने । उनले बैंकले प्रविधिमा आधारित बैंकिङ्ग सेवालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ सर्भिसलाई प्राथमिकताका साथ अगाडि बढाईरहेको छ बताए । नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा २०७९/८० मा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकका रूपमा यस बैंकलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष डा रेवतबहादुर कार्की, बैंकमा क्रियाशील तीन वटै ट्रेड युनियनका अध्यक्षहरू क्रमशः रावा बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रावा बैंक पूर्वकर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।