मुग्लिन (चितवन) । चितवन उद्योग वाणिज्य सङ्घको आयोजनामा गरिएको पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न भएको छ । पाँच लाख मानिसले नारायणी नदी किनारमा आयोजित महोत्सव अवलोकन गरेका थिए ।
महोत्सव मूल समितिका संयोजक सुमनकुमार श्रेष्ठका अनुसार रोजगार मेला, ‘हार्डवयर्स एक्स्पो’, मह परिसर, अटो परिसर, रेष्टुराँ परिसर, फनपार्क, चाइना एक्स्पो, लघु, घरेलु परिसर, कृषि परिसरलगायत चार सय ३० स्टल रहेको महोत्सवमा ३० करोड बराबरको कारोबार भएको थियो ।
संयोजक श्रेष्ठले महोत्सव उद्योग व्यवसायको प्रवर्द्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र वेशभूषाको जगेर्नाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा सूचना प्रविधि र पूर्वाधारलगायतका क्षेत्रको विकासका सम्भावनाको उजागर गर्न उपयोगी भएको बताए ।
महोत्सवमा प्रतियोगितात्मक कृषि, हस्तकलाका उत्पादन, साना तथा लघु, घरेलु उत्पादनको प्रदर्शनी, अटोमोबिललागयत औद्योगिक प्रदर्शनी तथा कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिमा गोष्ठीका साथै स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा महोत्सवको समापन भएको हो । व्यवसायमैत्री वातावरण बनाउन प्रदेश सरकार क्रियाशील रहेको मुख्यमन्त्री लामाले बताए ।