काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा करिब तीन खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले रियलस्टेट (घरजग्गा) क्षेत्रमा दुई खर्ब ७७ अर्ब ३३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६६ खर्ब ८० अर्ब ९४ करोड ९० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ५३ खर्ब २४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ अर्ब ११ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४९ खर्ब ९२ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र भने कुल दुई खर्ब ४४ अर्ब २२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वाणिज्य बैंकहरूले मात्र चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल ५९ खर्ब ४० अर्ब ८९ करोड १० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४७ खर्ब १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम दुई खर्ब ३४ अर्ब पाँच करोड ७० लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ अर्ब ८२ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल दुई खर्ब ११ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा कुल छ खर्ब पाँच अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी पाँच खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल ३२ अर्ब १८ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ अर्ब ७७ करोड २० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल २३ अर्ब ४१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म एक खर्ब ३४ अर्ब २६ करोड ४० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब एक अर्ब ९६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल ११ अर्ब नौ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ५१ करोड १० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा नौ अर्ब ५८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।