काठमाडौं । हुन त हाम्रो देश नेपालमा उच्च हिमाली क्षेत्रमा रहेका अग्ला डाँडा (पास)हरू पार गर्दै गरिने उच्च हिमाली क्षेत्र हुँदै गरिने पदयात्रा मार्गहरू पनि प्रशस्तै रहेका छन् । जुन पदयात्रा मार्गमा हुँदै ट्रेकिङ गर्नुको छुट्टै मजा हुन्छ । नेपालमा रहेका त्यस्ता केही महत्वपूर्ण पदयात्रा मार्गहरूमा पूर्वको कञ्चनजंघा क्षेत्रमा रहेको सेलेले पास, आम्फू लाप्चा पास, टासी लाप्चा पास, तिलम्यान कोल पास, लार्के पास, थोरोङ पास, साङ्दा पास, नुमला बगाला पास, से पास आदि रहेका छन् । जुन पदयात्रा मार्गहरूमा पदयात्रा गर्दा अत्यधिक उचाइको बाटो डाँडो काटेर (एकातिरबाट पार गरेर अर्कोतिर पास गरेर) यात्रा गर्नुपर्ने हुन्छ । हुन पनि नेपालमा रहेका त्यस्ता विभिन्न उच्च हिमाली क्षेत्र पार गर्दै गरिने पदयात्रा मार्ग अन्य देशमा त विरलै मात्रै रहेका छन् भनी दावाका साथ सकिन्छ । यस्तै, संसारकै उच्च हिमाली क्षेत्र हुँदै पदयात्रा गरिने पदमार्गमध्ये एक रहेको छ ‘–शेर्पेनी कोल ।’
यो पदमार्ग नेपालको मात्रै नभएर सम्भवतः संसारकै सबैभन्दा उच्च हिमाली क्षेत्र भएर पदयात्रा गरिने मार्ग हो । त्यसैले आउनुहोस्, ‘शेर्पेनी कोल’ पदयात्रा मार्गका बारेमा केही जानौँ, बुझौँ र पढौँ । ‘शेर्पेनी कोल’ पदयात्रा मार्ग संसारको उच्च पदयात्रा मार्ग हो होइन ? सो सम्बन्धमा हालसम्म सर्वेक्षण गरे, नगरेको बारेमा चाहिँ यो पंक्तिकारलाई थाहा छैन ? त्यसो भए पनि अहिलेसम्म यो पदयात्रा मार्गलाई संसारकै अग्लो पदयात्रा मार्ग हो भन्न सकिन्छ, भन्ने गरिन्छ । किनभने यो पदयात्रा मार्गमा पदयात्रीले ६१ सय २५ मिटर उचाइ भएर पदयात्रा गर्नुपर्ने हुन्छ । हो, यो पदयात्रा मार्गमा पदयात्रा गर्न पहिले (३३–३५–३७ अगाडि) विदेशी पर्यटकहरू काठमाडौं, धरान, धनकुटा हुँदै हिलेसम्म गाडीमा र हिलेबाट पैदल यात्रा सुरु गर्थे ।
आजभोलिचाहिँ हिउँद याममा संखुवासभा जिल्लाको चिचिला, नुम (हिउँदमा)सम्म नै स–साना गाडी चल्ने गरेको छ । त्यसैले अहिले विदेशी तथा स्वदेशी पदयात्रीहरू हिउँद याममा चिचिला, नुमसम्म नै गाडीमा जाने गर्छन् । त्यहाँबाट बल्ल पैदल यात्रा थाल्छन् । त्यसरी पैदल यात्रा गर्ने क्रममा टासी गाऊँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, बरुत्से बेस क्याम्प हुँदै शेर्पेनी–कोल पास गरेर सोलुखुम्बु जिल्लाको मेरा–ला, खारे, ठाङना, क्षेत्र–ला हुँदै लुक्ला पुगेर पदयात्रा सक्ने गर्छन् । केही पदयात्रीहरूले चाहिँ मेरा–ला वा बरुत्चेबाट आम्फु लाप्चा हुँदै छुकुङ निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे, जोरसल्ले, फाक्दिङ, चौरीखर्क हुँदै लुक्लामा आएर पदयात्रा समाप्त गर्छन् ।
यो पदयात्रा मार्गमा पनि विभिन्न उपमार्गहरू छन् । तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासीगाउँ, याङ्लेखर्क, खोङ्मा डाँडा, नुम्बुक, हिलारीबेस क्याम्प हुँदै शेर्पेनी कोल (६,१२५ मिटर) मा क्याम्प गर्नुपर्छ भने यहाँ सीधा भिरालो (पर्वतारोहण–पदयात्राको भाषामा ‘स्टिभ–डाउन’ छ । यहाँको बाटो पूरा हिउँ नै हिउँले ढाकिएको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ भने भोलिपल्टचाहिँ ६२०० मिटरको हाराहारीको उचाइमा बरुणत्चे हिमालको क्याम्प–१ मा बास बस्नु पर्छ । यो पदयात्रा मार्गमा टासी गाउँसम्म मान्छेको बसोबास रहेको छ । त्यसपछिको प्रायः सबै क्याम्प खर्क र खाली चउरमा गर्नुपर्छ भने हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न सुरु गर्नुपर्छ । हिलारी बेस क्याम्प ४२०० मिटर उचाइमा छ भने एक दिन नाक ठोक्किने गरी उकालो हिँड्नुपर्छ । जब शेर्पेनी कोल र बरुणत्चे–१ बीचको ६२०० मिटरको सेरोफेरोमा पदयात्रीहरू यात्रा गरिरहेका हुन्छन्, त्यतिबेला उनीहरूले खुवै सास्ती खेपिरहेका हुन्छन् । किनभने उच्च हिमाली भेगमा अक्सिजन कम हुन्छ, त्यसमाथि हिउँमाथि यात्रा गरिरहेका हुन्छन्, थाकेको बेला बिसाउन र आराम गर्न पदयात्रीहरूका लागि सजिलोसँग बस्ने ठाउँ हुँदैन । त्यसैले हिँड्दाहिँड्दै थकाई लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन्÷लिन्छन् । बिचराहरू ! त्यो बेला उनीहरूको हालत हेरिनसक्नुकै हुन्छ । प्रायः सबैको हालत त्यस्तै हुन्छ । तापनि भरियाहरूको अवस्था बढी नै दयनीय हुन्छ ।
कतिपय पदयात्री तथा भरियाहरू उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थाई रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) को कारणले गर्दा सिकिस्तै हुन्छन् भने केहीको हिँड्दाहिँड्दै ज्यानै जान सक्छ । कोहीकोहीले त असावधानीका कारण डोरीबाट चिप्लिएर पनि सिलटिम्बुर खान्छन् । स्मरणीय छ, शेर्पेनी कोल पास गरेर बरुणत्चे बेसक्याम्प आउने दिन लगभग पाँच हजार मिटरजति त डोरी मात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङ प्रायः सबै सरसामान डोरीबाटै पास गर्नुपर्ने हुन्छ । कतिपय भरियाहरूले भारी बोक्न नसकेर खानाको भारी हिऊँमै छाडेर हिंँड्छन् । त्यसरी छाडेका खानाका भारीबीचका बाटोमा प्रशस्तै भेटिन्छ । कतैकतै त हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेको लास पनि भेटिन्छ । ती लासहरू प्रायः नेपाली भरियाहरूको हुन्छ ।
त्यस्तो अप्ठ्यारो र कठिन बाटो भए पनि छ पटकसम्म विगतका दिनमा ओहोरदोहोर गरेका संखुवासभा जिल्ला, पाङ्मा (हाल अस्ट्रेलिया बस्ने) का युद्ध लोहोरुङ आफ्नो अनुभव पूर्वेली लवजमा यसरी सुनाउँछन् –‘अरे हौ सोल्टी, शेर्पेनी कोल त नेपालको सबैभन्दा अप्ठ्यारो र खतरापूर्ण पास हो नि ! तगडा शेर्पा (पदीय हिसाबले गाइड गर्ने मान्छे) भएन भने त खत्तमै हुन्छ नि ! डोरी कसले टाङ्ने ? भरियालाई कसले सहयोग गर्ने ? ग्रुपलाई कसले डोर्याउने ? त्यसमाथि तिर्खा लाग्दा पानी पिउन समेत पाइँदैन । दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ नि हौ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ ।’ त्यसैले त यो मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्, आफूलाई साह्रै गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । किनभने, यो पदयात्रा मार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकहरूले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् । हुन पनि यो मार्गमा पदयात्रा गर्न वास्तवमै विश्वका साहसिक पदयात्रीहरूले मात्रै आँट गर्न सक्छन् । किनभने ३–४ दिनसम्म हिउँ नै हिउँमा हिँड्नुपर्छ । त्यसमाथि शेर्र्पेनी कोल पास गर्नका लागि हिमाल चढ्ने सामान्य प्राविधिक ज्ञानको पनि जरुरी हुन्छ । कतिपय पदयात्रीहरू एक्युपमेन्ट तयार गरेर शरीरमा फिट गरी पठाउँदा समेत बीचमा पुगेपछि आत्तिन थाल्छन् । त्यसैले निडर र साहसी हुनुपर्छ, शेर्पेनी कोल पास गर्ने पदयात्रीहरू । त्यसो त विगतका दिनमा सूचना र सञ्चारको अभाव तथा मानव बस्तीविहीनताका कारण बीच बाटोमा केही गरी विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भई हालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन पनि हत्तपत्त सम्भव हुन्थेन । बिरामीलाई बचाउन सके वा बिरामी बाँचेमा मान्छेले सकीनसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाऊँमा ल्याइन्थ्यो । त्यसपछि हेलिकोप्टरले लासको रेस्क्यु गथ्र्यो । सुन्दा नमीठो लागे पनि केही गरी नेपालीहरू मरिहालेमा लास त्यतै छाडिन्थ्यो । किनभने, त्योबेला नेपालीहरूको दुर्घटना बीमा नै हुन्थेन, गरिन्थेन । अर्को भनेको त्यस्तो अन्नकन्टार हिउँ नै हिउँको बाटोमा कोही बिरामी भई हालेमा बिरामीका ३–४ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । किनभने त्यस्तो उचाइ र अनकन्टार ठाउँबाट बिरामी एक्लै जिउँदै फर्केला भन्ने आशा गर्न सकिँदैन थियो । सम्भावना पनि हुँंदैनथ्यो । फेरि बाटोमा खाने खाना, बास बस्ने पाल र साथीविना बिरामीलाई एक्लै पठाउने कुरो पनि भएन । कदाचित बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने बाँच्ने केही ठेगान हुँदैन’थ्यो । हत्तपत्त बाटोमा खाने कुरो पनि पाइँदैनथ्यो ।