काठमाडौं । दिगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेडले नेपालमा विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्न साझेदारीमा प्रवेश गरेका छन् । २०८१ माघ १० मा आधिकारिकरूपमा सुरु भएको यो सहकार्यले विद्युतीय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको छ ।
सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सले सवारी साधनको लागतको ७० प्रतिशतसम्म ऋण प्रदान गर्नेछ । यी ऋणहरू आकर्षक व्याजदर, लचिलो भुक्तानी सर्तहरू र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शको साथ आउँछन् । यस साझेदारीअन्तर्गत ११–सिटर, १४–सिटर, १६–सिटर र १९–सिटर विद्युतीय सवारीसाधनसहित दिगोका सबै व्यावसायिक गाडीहरूको लागि वित्तीय विकल्पहरू उपलब्ध हुनेछन् ।
दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत, सौरभ श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, समाज प्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिकरूप लिएको छ । यो साझेदारीले दिगो सवारी साधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहकहरू तथा व्यवसायीहरूलाई गाडी खरिद गर्न थप सहज बनाउने छ ।
रिलायन्स फाइनान्सको राष्ट्रव्यापी उपस्थितिसँगै ग्राहकहरूले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोको गाडीहरू फाइनान्सको लागि आवेदन दिन सक्छन् । यो पहलले खरिद प्रक्रियालाई सरल बनाउने मात्र होइन तर वातावरणीयरूपमा दिगो यातायात समाधानहरू अपनाउन पनि प्रोत्साहित गर्छ ।
मिसन जेरो एमिसनको आफ्नो उद्देश्य साथ दिगो ग्रुपले नेपालमा विद्युतीय सवारीसाधनको इकोसिस्टम प्रवर्द्धनमा केन्द्रित रहेको छ । उनीहरूले नेपाली बजारमा विद्युतीय सवारीसाधनको बिक्री, वितरण, सर्भिस र स्पेयर पाट्र्सका साथै दिगोमार्फतका अन्य संस्थाहरूले विद्युतीय सवारीसाधन भाडामा दिने र चार्जिङ समाधानहरू उपलब्ध गराउँछ भने नेपाली राजमार्गमा विभिन्न स्थानमा दिगो ई–स्टपले सस्टेनेबल रेस्ट स्टपको स्थापना गर्दै आएको छ । नेपालमा इन्धन सवारी साधनको प्रयोगमा कमी ल्याउन र आत्मनिर्भर विद्युतीय ऊर्जाको प्रवर्द्धन गरी वातावरण र आर्थिक दिगोपन दुवैलाई प्रवर्द्धन गर्न यो एउटा ठूलो पहल हो ।