काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त कर्मचारीहरूलाई पूर्वसेवाकालीन तालिम प्रदान गरेको छ । बैंकका अनुसार लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगतरूपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक (प्रशासन, नगद र सूचना प्रविधि सेवाका) ८३ जना र अधिकृतस्तरका छ जना गरी जम्मा ८९ जना कर्मचारीहरूलाई चौध दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरेको हो ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आफूले सैद्धान्तिकरूपमा सिकेका ज्ञानलाई अब व्यवहारमा उतारी ग्राहकहरूलाई चुस्त गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति दत्तचित्त भएर लाग्नुपर्ने बताए । उनले विभिन्न प्रक्रियापश्चात बैंकले युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृट हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त वरिष्ठ सहायक ८३ जना कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम सपथ गराएका थिए । कार्यक्रम मानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जीसीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।