काठमाडौ । खाद्य पदार्थ उत्पादक कम्पनी, यशोदा फुड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको छ ।
काठमाडौंको सोल्टीमोडस्थित हायात सेन्ट्रिकमा शुक्रबार एक भव्य समारोहको आयोजना गर्दै कम्पनीले जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । समारोहमा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले शाहलाई ग्लोबल कार्यकारी निर्देशकका रूपमा सम्मान गर्दै स्वागत गरेका थिए । शाहको नियुक्तिसँगै यशोदा फुड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ । शाहले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ । ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा शाहले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्रान्ड बिल्डिङ, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा वृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि शाह ख्यातिप्राप्त व्यक्ति हुन् । अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोडभन्दामाथि भएको कम्पनीले भारत, क्यानेडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापुर, न्युजिल्यान्डलगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ । कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्य पदार्थ क्षेत्रमा नवप्रवर्तन भित्र्याउने उद्देश्य लिएको छ ।
कम्पनी सदाझैँ आफ्ना उत्पादनको गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै नेपाली अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्याउन प्रतिबद्ध रहेको कार्यक्रम जानकारी दिइएको थियो । साथै, निकट भविष्यमा खाद्य उत्पादनका साथै एफएमसीजी उत्पादनहरू पनि सार्वजनिक गर्ने कम्पनीको लक्ष्य रहेको छ ।