काठमाडौं, साउन ५
खल्ती र नेपाल बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर मोबाइल वालेटमा नगद लोड गर्न सक्नेछन् । ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् ।
दुवै संस्थाबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा नेपाल बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख व्यवसाय विकास अधिकृत सुदित घिमिरे तथा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए ।
नेपाल बैंकसँगको सहकार्यपछि ‘खल्ती’ डिजिटल वालेटलाई जोडेर सिधै वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने बैंकको संख्या चार पुगेको छ । यसअघि एनआइसी एसिया, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटलाई खातासँग जोडेर सिधै भुक्तानी गर्दै आएका थिए ।
‘खल्ती’का निर्देशक अमित अग्रवाल मुलुककै जेठो बैंकले कान्छो डिजिटल वालेटलाई विश्वास गरेकामा आफूहरू गौरवान्वित भएको बताउँछन् । ‘नेपाल बैंकसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो,’ उनले भने, ‘ठूलो नेटवर्क र लाखौं ग्राहक भएको बैंक ‘खल्ती’सँग जोडिएपछि धेरै ग्राहकले ‘खल्ती’को सेवा उपयोग गर्ने हाम्रो विश्वास छ ।’ खल्तीसँग बैंक खातालाई जोडेपछि सिधै वालेटमार्फत भुक्तानी गर्न सकिने भएकाले वालेटमा नगद लोड गर्ने झन्झट पनि ग्राहकलाई नपर्ने उनले बताए । ‘खल्ती’ डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो ।
‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरूको ग्राहकशुल्क तिर्ने जस्ता धेरै सेवाहरू लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरूको संख्या १३ लाखभन्दा बढी छ ।