नयाँ दिल्ली, साउन ५
भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । योसँगै भारतमा कोभिड–१९ संक्रमितको कूल संख्या १० लाख ७७ हजार ६ सय १८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । विगत २४ घण्टामा कोभिड–१९ संक्रमित ५ सय ४३ बिरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८ सय १६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
भारतमा आइतबारसम्म निकोभई घर फर्किने कोभिड–१९ संक्रमित बिरामीको संख्या छ लाख ७७ हजार ४ सय २३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३ सय ७९ व्यक्ति संक्रमित रहेका छन् । सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९ सय ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ संक्रमण परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७ सय ४२ नमूना परीक्षण गरिएको छ भने यसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।