सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा रासस जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले राससको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राससले जनताका बीचमा पुगेर यथार्थपरक एवं विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको जनाउँदै मुख्यमन्त्री शाहले भने, “आमसञ्चार क्षेत्रमा भएको विकाससँगै अझ प्रभावकारी, विश्वसनीय र सुदृढ बनाउने काममा खटिरहेको रासस व्यवस्थापनलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।”
सरकारका गतिविधिका सन्दर्भमा सञ्चारमाध्यमले सचेत गराउन जरुरी रहेको जनाउँदै उनले सकारात्मक तथा नकारात्मक पक्षलाई उजागर गरी रचनात्मक सुझावसहितको समाचारका पक्षमा प्रदेश सकार रहेको स्पष्ट गरे । उनले राम्रा–नराम्रा कुरालाई समाचारका रूपमा सम्प्रेषण गरेर नीति निर्माणमा सहयोग गर्न पनि आग्रह गरे ।
मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारू भाषामा पनि समाचार सम्प्रेषण गर्ने काममा प्रदेश सरकार रासससँग सहकार्य गर्न तयार रहेको बताए । उनले राससको धनगढीस्थित कार्यालय भवन निर्माणमा सरकारले सहयोग गर्ने जानकारी दिए ।
सो अवसरमा कार्यकारी अध्यक्ष झाले राससको धनगढीमा निर्माण हुन लागेको नयाँ भवनलाई पत्रकारिता प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने व्यवस्थापनको लक्ष्य रहेको जानकारी दिदै यसलाई सहयोग गर्न मुख्यमन्त्री शाहसँग आग्रह गरे । उनले प्रदेश सरकारले राससलाई आफ्नो सूचना संयन्त्रका रूपमा प्रयोग गर्न आग्रह गर्दै त्यस कार्यमा राससको तर्फबाट सक्दो सहयोग हुने बताए ।
राससले पछिल्लो समयमा अवधी, मैथिली, नेपाल भाषामा पनि समाचार सम्प्रेषण गरिरहेको जानकारी दिदै कार्यकारी अध्यक्ष झाले भाषा संस्कृतिको संरक्षणका लागि सुदूरपश्चिममा डेटेली र थारू भाषामा समाचार सम्प्रेषण गर्ने काममा सहयोग गर्न आग्रह गरे ।
कार्यकारी अध्यक्ष झा नेतृत्वको प्रतिनिधिमण्डलमा राससका उपसम्पादक सिद्धराज भट्ट, नेपाल पत्रकार महासङ्घ प्रदेशका अध्यक्ष भरत शाहलगायत थिए ।