काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।
बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधिसभामा पेस हुनेछन् ।
अध्यादेश ‘फास्ट ट्र्याक’बाट पारित गर्ने
सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्र्याक’बाट पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा फास्ट ट्र्याकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद् सचिवालयमा दर्ता भएको छ, अध्यादेश कार्यान्वयन गर्न नियमावली बनाउने निर्णय गरेको छ ।’
आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरुङले सुशासन प्रवद्र्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट पारे ।