विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले कानुनमा स्नातकोत्तर तहको अध्यापन सुरू गरेको छ । स्नातकोत्तर तहमा अध्ययनका लागि ७७ जना विद्यार्थीहरूले प्रवेश परीक्षा दिएका छन् ।
क्याम्पसले ५० जना विद्यार्थीलाई भर्ना गरी अध्यापन गर्ने तयारी गरेको निर्देशक महेश प्रसाद निरौलाले जानकारी दिए । दुई वर्षे स्नातकोत्तर तहको कार्यक्रम सञ्चालका लागि धेरै अघिदेखि विद्यार्थीहरूले माग गर्दै आएका थिए । विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि मात्रै अध्यापन सुरु गर्ने निर्णय गरेको निर्देशक निरौलाले बताए । आंगिक क्याम्पसबाट कानूनमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन नहुँदा विद्यार्थीहरू महँगो शुल्क तिरेर निजी क्षेत्रबाट सञ्चालन हुुँदै आएका शैक्षिक संस्थामा पढ्न बाध्य बनेका थिए । तर चालुु वर्षदेखि नै आंगिक क्याम्पसले नै स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीले कम शुल्कमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् ।
कानुनमा विशेषगरी स्नातकोत्तर तहको अध्यापन साँझमा हुने भएकोले कानुन व्यवसायी र विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी समेत लाभान्वित हुने निर्देशक निरौलाले बताए । पूर्वाञ्चल विश्वबिद्यालयको आंगिक क्याम्पस कलेज अफ लले स्नातक तहको पाँच वर्षे बीए एलएलबी र तीन वर्षे एलएलबी कार्यक्रम सञ्चालन गर्दै आएको थियो । अबदेखि पाँच वर्षे बीए एलएलबी दिउँसो र तीन वर्षे एलएलबी कार्यक्रम साँझमा अध्यापन हुने जनाइएको छ ।