काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने योजनालाई स्वीकृत गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साताबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको छ । यसअन्तर्गत माघ २२ गतेबाट फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई मन्त्रालयले खोप लगाउँदैछ । यस योजनाको प्रधानमन्त्रीबाट सुरुवात गर्ने गरी तयार योजना मन्त्री पौडेलले स्वीकृत गरेका हुन् । यस्तै, मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतका रूपमा अघि सार्ने भएको छ ।
क्यान्सर विजेता कोइराला एचपीभीसहितका खोप कार्यक्रमका लागि दूतका रूपमा रहने स्वास्थ्य सेवा विभागका महानिर्देशक विकास देवकोटाले बताए । मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारीहरू विभिन्न माध्यमबाट प्रसार गरिरहेको छ । पहिलो निर्णयका रूपमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका मन्त्री पौडेलले यसअघि क्यान्सरको विशिष्टकृत उपचार सेवा सातै प्रदेशमा विस्तार गर्नुका अलावा बाल क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय कार्यान्वयनमा ल्याएका छन् । १६ लाख किशोरीहरूको खोप अभियानले महिलाहरूमा देखिने प्रमुख स्वास्थ्य समस्या पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि योगदान दिने विज्ञहरूले बताएका छन् ।
नेपालमा सन् २०२२ मा कृल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्याङ्कमा छ । विश्व स्वास्थ्य सँगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्र्जभेटरीका अनुसार विश्वभर प्रति एक लाख रोगीमा सात जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै नौ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरूले बताउने गरेका छन् ।