दोलखा । दोलखामा आगामी फागुन छ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव आयोजना गरिने भएको छ । निजी क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले दोलखा उद्योग वाणिज्य संघको आयोजनामा १२ दिने महोत्सव हुन लागेको हो ।
महोत्सव जिल्ला सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा हुने दोलखा उद्योग वाणिज्य संघ दोलखाले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवर्द्धन गर्न एक सय ४० वटा स्टल रहने संघका महासचिव सुरेश उप्रेतीले जानकारी दिए । स्टलमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, संघसंस्था, विद्यालय, उद्योगी व्यवसायीका उत्पादनलगायत प्रदर्शनीमा राखिनेछ । महोत्सवमा दोलखाका पर्यटकीयस्थलको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने छ । महोत्सवमा कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरू र विद्यालयस्तरीय प्रतियोगिताहरू पनि सञ्चालन गरिनेछ ।
संघले महोत्सवलाई आर्कषक बनाउन एक लाख पुरस्कार राशीसहितको बागमती प्रदेशस्तरीय दोहोरी आइडल प्रतियोगिता सञ्चालन गर्न लागेको छ । यस्तै, जिल्लाका विभिन्न जातजाति, भाषाभाषीका कला, संस्कृति समेटिएको प्रस्तुति, झाँकी प्रदर्शन गरिने संघले जनाएको छ । महोत्सवले जिल्लाको पर्यटन, कृषि उत्पादन तथा आर्थिक विकासमा सहयोग गर्ने आयोजकको विश्वास छ । साथै, सुस्त रहेको ब्यापार व्यवसायलाई थप चलायमान बनाउन टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको लागि आयोजकले स्टल बुकिङसँगै दोहोरी आइडलको आवेदन समेत खुला गरिसकेको छ । संघले गत वर्ष पनि पुसमा १३ दिने बृहत् दोलखा महोत्सव आयोजना गरेको थियो ।