रामपुर (पाल्पा) । नेपाल प्रेस युनियन पाल्पाले बुधबार रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन ऐन संशोधनको क्रममा रहेको बताएका छन् । उनले वनसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा रहेको पनि बताए ।
वन ऐनमा रहेका साना–साना कारणले विकास निर्माणमा समस्या भएको भन्दै उनले ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताए । विकास निर्माण र वनबिच नजिकको सम्बन्ध भए पनि साना कारणले अप्ठ्याराहरू सिर्जना भएको बताए ।
उनले वन ऐन संशोधनको माध्यमबाट स्वदेशी काठ सदुपयोग गर्ने, बाहिरको काठलाई निरुत्साहित गर्नका लागि आवश्यक कार्ययोजना बनाइरहेको स्पष्ट पारे । अहिले वन्यजन्तु र मानवविचको द्वन्द्व चलिरहेको अवस्थामा समस्याको समाधानका लागि पहल भइरहेको बताए ।
जैविक विविधताको संरक्षणका लागि स्थानीय सरकार र प्रदेश सङ्घ समन्वय गरेर आवश्यक काम अघि बढाउने बताए । वन ऐनमा विशेष व्यवस्था गर्न आग्रह गर्दै लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले चरा संरक्षणका लागि वन ऐनमा स्पष्ट नीति नहुँदा आवश्यक कार्य गर्न समस्या परेको बताए ।
वनबाट स्थानीय सरकारले प्राप्त गर्ने आयआर्जनका कुरा कानुनसँग बाझिएको कारणले रोकिएको बताउदै रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले ६ प्रजातिको गिद्ध पाइने खैरेनी वनको प्रवर्द्धनका लागि नगरपालिका लागिपरेको जानकारी दिए ।