काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई साना तथा मझौला उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान आवश्यक रहेको बताएका छन् ।
ललितपुरको सानेपामा बुधबार नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन गर्दै उनले व्यवसायमा टिक्नका लागि उद्यमीलाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए । साथै, उद्यममा लामो समय टिक्नको लागि उद्यमीसँग पनि धैर्यसँगै निरन्तरताको समेत आवश्यक्ता औँल्याए । थोरै लगानीमै स्टार्टअप व्यवसायलाई प्रभावकारीरूपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन सकिने उनको भनाइ थियो ।
कार्यक्रममा उनले नेपाल स्टार्टअप र एसएमई सम्मेलन नवीन उत्पादन र लगानीकर्ताका लागि एक अवसर भएको बताए । यस सम्मेलनले विभिन्न नवीन उत्पादन, सेवाहरूको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने उनको विश्वास थियो । यस्तै बेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्ने उनले बताए । नवप्रवर्तन र उद्यमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने उनको विश्वास थियो । उनले भने, ‘खासगरी केही गरौँ भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के–कस्तो नीति निर्माण गर्ने भन्ने विषयमा यो कार्यक्रममा छलफल हुने विश्वास छु ।’
गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको अवश्यकता भएको उल्लेख गर्दै उनले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्याउने बताए । ‘पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवापुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दैछन्’, उनले भने । नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले काँग्रेसले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्द्धन गर्ने नीति लिएको समेत उनले बताए ।
सम्मेलनमा आयोजक उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक उर्मिला थपलियाले यस सम्मेलनले नेपालको डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने र साना उद्यमीलाई प्रोत्साहन गर्नका योगदान गर्ने उल्लेख गरिन् । दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनले विभिन्न क्षेत्रका सिकाई, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुने उनको भनाइ थियो । सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाहरूको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनीमार्फत स्थानीय उत्पादनहरूको प्रचार–प्रसार एवम् बिक्रीमा वृद्धि गर्नेलगायत लक्ष्य राखिएको छ ।