काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि दुई रात तीन दिनको ‘लिडर्स नाइट विथ भूषण दाहाल’ कार्यक्रम चितवन सौराहास्थित होटल सेभेनस्टारमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८१ श्रावण महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई गैंडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित वरिष्ठ पत्रकार भूषण दाहालसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणासहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखसहित देशैभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब दुई सय २५ जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।
साथै, कार्यक्रमका प्रमुख अतिथि दाहालले सहभागी अभिकर्ताहरूलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होइन हजारौँ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नुपर्ने धारणा व्यक्त गरे ।
समारोहमा योजनामा छनौट भई सहभागी भएका अभिकर्ताहरूलाई प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार दाहालले सम्मानपत्र प्रदान गरेका थिए । सहभागी अभिकर्ताहरूले नेपालकै चर्चित एवं वरिष्ठ पत्रकार दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्तिविकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।