काठमाडौं । जगदम्बा मोटर्सले नेपाली बजारमा सार्वजनिक गर्न लागेको मलेसियन प्रोटन इमास ७ ईभी कारमा एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । एजिस सर्ट ब्लेड ब्याट्री एक प्रकारको लिथियम आइरन फोस्फेट ब्याट्री हो, जसलाई गिली अटोमोबाइलद्वारा आविष्कार गरिएको हो ।
कम्पनीका अनुसार यस प्रकारका ब्याट्री छिटो चार्ज गर्न र परम्परागत ब्लेड ब्याट्रीहरूको तुलनामा उच्च प्रदर्शन गर्छ । उच्च सुरक्षा र लामो आयु यस प्रकार ब्याट्रीको अर्को विशेषता हो भने यी ब्याट्रीले अत्यधिक चिसोमा पनि आफ्नो उच्च क्षमता कायम राख्छ । प्रोटन इमास ७ को प्राइममा ४९ दशमलव ५२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने प्रोटन इमास ७ प्रिमियममा ६० दशमलव २२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।
त्यस्तै, प्रोटन इमास ७ को अर्को विशेषता ‘१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ हो । ‘१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ले विद्युतीय सवारी साधनको एकीकृत पावरट्रेनलाई जनाउँछ । यसमा मोटर, पावर इलेक्ट्रोनिक्स, नियन्त्रण एकाइहरूसहित कुलिङ सिस्टमजस्ता विभिन्न उप–प्रणालीहरूको लागि धेरै कम्पोनेन्टहरू प्रयोग गर्नुको सट्टा, तिनीहरूलाई एउटै कम्पोनेन्टमा ल्याइन्छ । यसले समग्र जटिलतालाई उल्लेखनीयरूपमा कम गर्ने कम्पनीको दाबी छ । साथै, धेरै कम्पोनेन्टबीच न्यूनतम ऊर्जा हानिलाई कम गर्दै यसको परफरमेन्सलाई बढाउँछ ।
१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणालीका प्रमुख फिचर्समा विद्युतीय मोटर, पावर कन्भर्टर, ब्याट्री व्यवस्थापन प्रणाली, अनबोर्ड चार्जरसहित धेरै नियन्त्रण एकाइहरू यस प्रणालीमा एक एकाइमा एकीकृत गरिएको हुन्छ ।
शंकर ग्रुपको टु ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले मार्चको तेस्रो सातासम्म नेपालमा यसको लन्च गर्ने तयारी गरेको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको ईभी इमास ७ कार प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध रहेका छन् ।