काठमाडौं । नेपालका उद्योगी–व्यवसायीहरूले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योगमा लगानीको सहज वातावरण निर्माणका लागि कानुनी जटिलताहरू हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको स्टार्टअप तथा एसएमई सम्मेलनमा सहभागीहरूले सरकारले लगानीका लागि भइरहेका कानुनी जटिलता हटाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले हालै ल्याएको अध्यादेशले धेरै आर्थिक ‘रिफर्म’का कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको उल्लेख गर्दै यसलाई छिट्टै कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरे । उनले महासंघले सबैलाई समेट्न नसक्ने भएकोले राजनीतिक दलहरूले गर्ने यस्ता नवप्रवर्तनका कामहरूलाई प्रोत्साहन गर्न सकेकोमा युवाहरूलाई लगानी र स्टार्टतर्फ आकर्षित गर्न सकिने बताए । काम गर्ने इमानदारिता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले हाल लगानी जुटाउन बैंक र बित्तीय संस्थाले सहजरूपमा ऋण लिन सकिने व्यवस्था गरेको बताए ।
कार्यक्रममा नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले भनिन्, ‘सहज ढंगले उद्योग व्यवसाय गर्नका लागि आर्थिक नेटवर्किङ धेरै महत्वपूर्ण भएकाले बैंक वित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरूको लागि विश्वास गर्नुपर्छ । जबसम्म हामीले नेपालमै उत्पादित सामग्रीको प्रयोग गर्न सक्दैनौँ तबसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौँ ।’ बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पाण्डेले विदेशिने युवाहरूलाई नेपालमा नै राख्नका लागि सहज लगानीको वातावरण र कानुनी झन्झटहरूबाट मुक्त गरिनुपर्ने बताए । उनले भने, ‘नेपालमा युवा पुस्ताले साइड विजनेस गरेर लाखौँ कमाइरहेका छन् । केही नभएको भन्ने होइन तर युवा पुस्तालाई विदेशिनबाट रोक्नका लागि लगानीमा सहजीकरण र कानुनी अड्चनहरू फुकाउनुपर्ने देखिन्छ ।’
उनले वैकल्पिक लगानीलाई खुला गर्नुपर्ने समेत तर्क गरेका छन् । उनले भने, ‘हामीले वैैकल्पिक लगानीलाई पनि खुला गर्न आवश्यक छ, जसका कारण बैंक तथा वित्तीय संस्थासँग मात्र भर पर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस् ।’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वित्तीय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख बताए । निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवप्रवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा नपर्ने उनले बताए । औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेश कुमार गुप्ताले पछिल्लो समय स्टार्टअपको दायरा बढ्दै गएको बताए ।
उनले भने, ‘केही वर्षयतादेखि स्टार्टअपको दायरा फराकिलो बन्दै गएको छ । हामीले निरन्तर उद्यमी नहुउन्जेल फलो गरिरहेका छौँ ।’ गत वर्षदेखि स्टार्टअप कर्जासहितको नीति अगाडि बढाएको र आगामी दिनमा यो क्षेत्र झनै फराकिलो बनेर अगाडि बढ्ने उनले बताए । उद्यमशीलताको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले सरकारले उद्योगी व्यवसायीको लागि कानुनी व्यवस्थाको सहजीकरण गर्ने हो भने युवाहरू व्यावसायिक क्षेत्रमा प्रवेश गर्न असहज नरहेको बताए ।