कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट सरकारी पुँजीगत खर्चका लागि एक दशमलव ३५ ट्रिलियन रुपैयाँ (लगभग चार दशमलव छ अर्ब अमेरिकी डलर) विनियोजन गर्ने बताएका छन् । जुन हालैका सरकारी पुँजीगत खर्चमध्ये सबैभन्दा बढी हो ।
मंगलबार राति आयोजित आर्थिक शिखर सम्मेलन सन् २०२५ मा दिसानायकेले यस्तो बताएका हुन् । उनले सरकारले सन् २०२५ मा आर्थिक वृद्धिदर चार प्रतिशत पुग्ने अपेक्षा गरेको र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न तथा कायम राख्न आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने बताए । उनले भने, ‘पुँजीगत खर्चको सम्पूर्ण विनियोजनलाई उपयोग गर्न सरकारले आवश्यक संयन्त्र बनाएर काम गरिरहेको छ ।’
श्रीलंकामा लगानी गर्न स्वीकृति पाउन अहिले ८२ विभिन्न संस्थाबाट स्वीकृति लिनुपर्ने र ती स्वीकृति पाउन साढे दुई वर्ष लाग्ने उनले जानकारी दिए । यो समयलाई छ महिनामा झार्ने उनले प्रतिबद्धता जनाएका छन् । रासस/सिन्ह्वा