काठमाडौं । निर्माण व्यवसायीहरुले आफ्नो आन्दोलन स्थगित गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना आन्दोलनका सबै कार्यक्रमहरु स्थगित भएको जनाएकोे छ ।
महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद भएपछि तत्कालका लागि आन्दोलन स्थगित रहेको जनाएको छ । महासंघले आफ्ना मागहरु सम्बोधन गर्न कार्यदल गठन गर्ने सहमति भएपछि तत्कालका लागि घोसित कार्यक्रमहरु स्थगत गरिएको बताएकोे छ ।
महासंघले निर्माण व्यवसायमा देखिएको भुक्तानी समस्या, न्यूनतम बोलकबोललाई नियमन र सार्वजनिक खरिद ऐनका विषय उठाएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । यस्तै महासंघले छ खर्ब लागतबराबरको परियोजनामा स्रोत सुनिश्चितता नभएको भन्दै व्यवस्थापन गर्न माग गरेका छन् ।
महासंघले पुस २७ गते राष्ट्रिय भेला आयोजना गरी १४ बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । माघ १५ गते अल्टिमेटमसहित प्रदेश निर्माण व्यवसायी महासंघहरुले सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा जिल्ला निर्माण व्यवसायी संघहरुले सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुसमक्ष ज्ञापन पेस गर्ने तथा केन्द्रमा महासंघले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका नेताहरु, संसदीय समितिका सभापतिहरुलाई ज्ञापनपत्र बुझाउने कार्य सम्पन्न गरेको महासंघले जनाएको छ ।