काठमाडौं । स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानुन आवश्यक भएको महिला उद्यमीहरूले बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको ‘महिला उद्यमशीलता’ विषयक छलफलमा उनीहरूले राज्यको विभेदपूर्ण नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
जेसीआई नेपालकी अध्यक्ष रजनी थापाले राज्यको पोलिसी महिलाको नाममा भन्दा पनि पुरुषको नाममा धेरै रहेको बताइन् । ‘सम्पत्ति भएको व्यक्तिले सहजै धितो राखेर सम्पत्ति राखेर ऋण लिन सक्छ र व्यवसाय पनि गर्दछ । त्यसकारण महिलामैत्री कानुन आवश्यक छ’, उनले भनिन् । यस्तै, उनले समयअनुसार महिलाहरूले पनि आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताइन् । आफू उद्यमी भइरहँदा कामप्रतिको इमानदारीताका साथै सक्छु भन्ने कमिटमेन्ट पनि हुनुपर्ने उनको भनाइ थियो । त्यसैगरी विद्यालय शिक्षामा पनि उद्यमी बन्ने पाठ्यक्रम समावेश गर्नुपर्ने उनको राय थियो ।
बीआईडी नेपालकी प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मकरूपमा फड्को मारेको बताइन् । उनले भनिन्, ‘नेपालमा उद्यम स्थापना गर्न केही अप्ठ्याराहरू भए पनि काम गर्दै जाँदा चुनौती सामना गर्ने क्षमता पनि हुने र मेहनत गरे सफल असम्भव हुँदैन ।’ पछिल्लो समय महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म नै आर्थिकरूपान्तरणमा योगदान गरिरहेको उल्लेख गरिन् । उनले उद्यम गर्नका लागि उद्यम सेन्टरको पनि स्थापना हुनुपर्ने बताइन् ।
युजी केक्सकी संस्थापक निकिता आचार्यले समाजमा उद्यम सञ्चालन गर्न पुरुषको तुलनामा महिलालाई बढी नै चुनौती रहेको उल्लेख गरिन् । ‘महिलालाई उद्यमप्रति उत्प्रेरित बनाउन राज्यले विभिन्न नीति त ल्याएको छ । तर महिलाहरू त्यसमा समावेश भएका छैनन्’, उनले भनिन्, ‘महिलालाई उद्यममा सहज प्रवेशको लागि राज्यले आफ्ना कानुन र नीतिमा सुधार र परिवर्तन गर्न आवश्यक छ ।’ त्यसैगरी एनआरएनकी पूर्वअध्यक्ष रविना थापाले अर्थतन्त्र सबल बनाउन महिला उद्यमीको महत्वपूर्ण भूमिका रहने बताइन् ।