वासिङ्टन । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बुधबार राति करिब ९ बजे एउटा यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किँदा सवार सबै जनाको मृत्यु भएको आशंका गरिएको छ । नेपाली समयअनुसार बिहीबार साँझसम्म हेलिकोप्टरमा सवार एकसहित ३० जनाको शव निकालिएको वासिङ्टन फायर डिपार्टमेन्टले बताएको छ ।
दुर्घटनापछि जहाज र हेलिकप्टर दुवै पोटोम्याक नदीमा खसेका थिए । विमानमा चार चालक दलका सदस्यसहित ६४ जना सवार थिए । हेलिकोप्टरमा तीन जना सवार थिए । यी सबै मानिसको ज्यान गएको आशंका गरिएको छ ।
दुर्घटनापछि अमेरिकन एयरलाइन्सको विमान पोटोम्याक नदीमा तीन टुक्रा अवस्थामा फेला परेको थियो । वाशिंगटन फायर डिपार्टमेन्टका प्रमुख जोन डोनेलीले दुर्घटनामा परेका कोही पनि नबाँचेको आशंका व्यक्त गरेका छन् ।
जोन डोनेलीले पानीमा खोजी तथा उद्धार कार्य जारी रहेको बताए । पानी धेरै गहिरो र हिलो छ । जसका कारण गोताखोरहरुलाई डाइभिङमा समस्या भइरहेको छ । उद्धारमा केही दिन लाग्न सक्छ, अहिले विमानस्थलमा सबै उडान र अवतरण रोकिएका छन् ।
वाशिंगटन फायर डिपार्टमेन्टका अनुसार घटना रोनाल्ड रेगन एयरपोर्ट नजिकै भएको हो । यूएस एयरलाइन्सको ‘सीआरजे ७०० बम्बार्डियर’ विमान र आर्मीको ‘ब्ल्याक हक’ (एच–६०) हेलिकोप्टरबीच दुर्घटना भएको हो । अमेरिकन एयरलाइन्सको जेट कन्सास राज्यबाट वासिङ्टन आउँदै थियो ।
युएस फिगर स्केटिङले उडानमा केही खेलाडी, प्रशिक्षक र अधिकारीहरु रहेको बताएको छ भने मस्कोका अधिकारीहरुले सन् १९९४को विश्व जोडी शीर्षक जित्ने विवाहित रुसी जोडी इभजेनिया सिस्कोभा र भादिम नाउमोभ पनि विमानमा रहेका पुष्टि गरेका छन् ।