काठमाडौं । गरिमा विकासको डेबिट र क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गर्न सकिने भएको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लेटफर्ममार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने ३डी सेक्युअर इ–कमर्स सेवाको सुरुवात गरेको हो । बैंकले डिजिटल बैंकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ उक्त सेवाको सुरूवात गरेको जानकारी दिएको छ ।
उक्त सेवा सुरू गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड होल्डर ग्राहकहरूले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा इ–कमर्स सुविधा सुरू गर्न सक्नेछन् जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सकिनेछ । अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरूको यस विकास बैंकमा रजिस्ट्रर गरिएको मोबाइल नम्बरमा ओटीपी जाने व्यवस्था मिलाइएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको छ ।
बैंकले हाल एक सय २३ वटा शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउन्टर र ५१ एटीएम साथै नवीनतम डिजिटल बैकिङमार्फत सरल सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।