सुबास बस्नेत
दोलखा, साउन ६
दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगुमा बनेको नवनिर्मित्त स्वास्थ्य चौकी भवन गुणस्तरहीन भएको जनप्रतिनिधि र स्थानीयले आरोप लगाएका छन् । यद्यपि प्राविधिक परीक्षण गरेर भवन निर्माणकर्तालाई गाउँपालिकाले सबै रकम भुक्तानी दिइसकेको छ । भवन निर्माण सम्पन्न भए पनि भवनको पार्टेसन वाल सिधा नभएको, झ्यालढोका नलाग्ने र भवनको छाना गुणस्तरहीन भएकाले कोठाभित्र पानी चुहिने समस्या देखिएको स्थानीय भीष्मप्रकाश खड्काले आर्थिक दैनिकलाई बताए ।
प्रयोग गर्नुअघि नै भवनको छानाबाट कोठामा पानी छिर्न थालेपछि भवनलाई पाल हालेर पानी तर्काउनुपर्ने अवस्था आएको उनले बताए । भवन बनाउन उपभोक्ता समितिले स्थानीय निर्माण व्यवसायीलाई जिम्मा दिएको थियो । भवन प्राविधिक स्टिमेटभन्दा बाहिर गएर गुणस्तरहीन बन्नपुगेको स्थानीयको आरोप छ । यता स्थानीय जनाप्रतिनिधिले पनि नवनिर्मित भवनमा प्रयोग गर्नुअघि नै विभिन्न प्राविधिक समस्या देखापरेका बताउँछन् । उपभोक्ता समितिले बनाएको भवन हेर्दा आफूलाई चित्त नबुझेको गौरीशंकर गाउँपालिका– २ का वडाअध्यक्ष बसन्त कार्कीले बताए । भबन बनाउँदाको सुरु देखीनै आफुले भबनको गुणस्तरमा प्रश्न गरेको र उपभोक्ता समितीले आफ्नो कुनै कुरा नसुनेको कार्कीको भनाइ छ ।
नवनिर्मित भवनमा केही त्रुटी भएको प्राविधिक अरुण घतानीले स्वीकार गरे । उनले झ्याल ढोका नलाग्ने समस्या काठ पसाङ्गिएको कारण भएको बताए । प्रदेश सरकारले बनाएको स्टमेटअनुसार नै भवन निर्माण भएको उनले दाबी गरे। उक्त भवन गुणस्तरहीन भए/नभएको अनुगमन गर्ने गौरीशंकर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप खडकाले बताए । प्रदेश सरकारले स्टमेट गरेको अनुसार नै प्राविधिकले निर्माण सम्पन्न गरेको रिर्पोट बुझाएपछि आफूहरुले भुक्तानी दिएको उनले बताए । वडा अध्यक्षसहितलाई हस्ताक्षर गराएर निर्माण कम्पनीलाई भवन निर्माणको जिम्मा दिएकोले अहिले आएर कम गुणस्तरहीन भन्दै वडा अध्यक्ष पन्छिन् नमिल्ने अधिकृत खड्काले बताए ।
सुरुको समयमा गाउँपालिकाले नियमित अनुगमन गरेको भए पनि निर्माण सम्पन्नको अवस्थामा कार्य व्यस्तताले अनुगमनमा निस्कन नसकेको उनको भनाइ छ । वाग्मती सरकारको ५० लाख र गाउँपालिकाको ३० लाख बजेटमा गरी ८० लाख लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको हो । प्रदेश सरकारले ९८ लाखमा भवन बनाउन स्टिमेट गरेको भए पनि भवन निर्माणको जिम्मा टेण्डर नगरी उपभोक्ता समितिलाई दिएपछि प्रदेश सरकारले ५० लाख रुपैयाँ निकासा गरेको थियो । त्यस्तै पछि गाउँपालिकाले भवन बनाउन लागि ३० लाख निकासा गरेको हो ।