काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शुक्रबार सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिएका छन् ।
उक्त भेटमा सभापति लामिछानेले सभामुख घिमिरेसमक्ष निलम्बन फुकुवाका लागि निवेदन बुझाएका हुन् । आफु थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै सभापति लामिछानेले निलम्बन फुकुवाको निवदेन बुझाए । सभापति लामिछानेसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सभामुख घिमिरेसँग भेट गरे ।
आज शुक्रबारदेखि सङ्घीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । संसदको बैठकमा सहभागि भई विधायीकाको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गर्न वातावरण मिलाइ दिन निलम्बीत सांसद लामिछानेले सभामुख घिमिरेसमक्ष अनुरोध गरे । गत पुस ८ गते प्रतिनिधिसभा सचिवालयले प्रतिनिधिसभा सदस्य लामिछानेलाई सांसद पदबाट निलम्बन गरेको थियो ।