बरहथवा (सर्लाही) । सर्लाहीको ईश्वरपुरमा शुक्रबार बिहान प्लास्टिक उद्योगमा आगलागी भएको छ । विद्युत् ‘सर्ट’ भएर राति एक्कासि लागेको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो ।
आगोले उद्योग रहेको नेत्रबहादुर कार्कीको घर पूर्ण रूपमा नष्ट भएको छ भने छिमेकी नवलकिशोर साहको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
कार्कीको घर भाडामा लिएर चन्द्रनगर गाउँपालिका–४, पोखरिया टोल निवासी रामछविला साहले उद्योग सञ्चालन गरेका थिए । आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण उपकरण, तयारी सामग्री, कच्चापदार्थलगायत सामान नष्ट हुँदा सात करोड पचास लाख बढीको क्षति पुगेको उद्योग सञ्चालक साहले दाबी गरे ।
साढे २ घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, हरिवन र मलङ्गवा नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए । आगलागीबाट अनुमानित चार करोड बढीको क्षति भएको प्रहरीको अनुमान रहे पनि क्षति र घटनास्थलको मुचुल्का संकलनको काम भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।