काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अस्ट्रेलियामा व्यापार सहजीकरणका लागि प्रतिनिधि चयन गरेको छ । चेम्बरले एनआरएन आईसीसी अनररी काउन्सिल सदस्य एवं व्यवसायी सञ्जीव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्समा चयन गरेको हो ।
अस्टै्लियामा आयोजित एक कार्यक्रममा चेम्बरको सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले शर्मालाई अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । नेपाल र अस्ट्रेलियाबीच व्यापार प्रवर्द्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शर्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रूपमा चयन गरिएको चेम्बरले जनाएको छ ।
अस्टे«लिया नेपालीहरूको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधि चयन गरिएको श्रेष्ठले बताए । उनले भने, ‘नेपालबाट अस्ट्रेलियामा निर्यातको राम्रो सम्भावना देखिएको छ, चालु आर्थिक वर्षमा मात्रै ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, घरेलु तथा हस्तकलाका सामग्री, कार्पेट, पास्तालगायतका सामग्री निर्यातका लागि अस्ट्रेलिया राम्रो बजार छ ।’ यस्तै, अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई स्वदेशमा लगानी भित्र्याउन पनि श्रेष्ठले आग्रह गरे ।
चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । चेम्बरले विभिन्न मुलुकमा व्यापार सहजीकरण एवं निर्यात प्रवद्र्धनका लागि प्रतिनिधि चयन गर्दै आएको छ ।