काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडीआरटी, सीओटी, टीओटी योग्य भएका एजेन्सी म्यानेजरहरूका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरूको उपस्थिति रहेको थियो ।
२०२५ को लागि कम्पनीबाट एक जना टीओटी, दुई जना सीओटी अनि २४ जना एमडीआरटीको लागि योग्य भएका छन् । टीओटीको लागि योग्य नमिता न्यौपाने यसअघि पनि दुई पटक टीओटी भइसकेको कम्पनीले जानकारी दिएको छ । साथै, रणबहादुर तामाङ पहिलो पटक सीओटीको लागि योग्य भएका छन् भने नारायण बहादुर गुरुङ दोस्रो पटक सीओटीको लागि योग्य भएका छन् ।
विश्वभरिका अभिकर्ताहरू माझः मिलियन डलर राउन्ड टेवल (एमडीआरटी) निकै नै प्रख्यात छ । यस मञ्चमा तोकिएका मापदण्डहरू पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरूको वार्षिकरूपमा उपस्थिति रहने गर्छ । सन् २०२५ का लागि एमडीआरटीको लक्ष्य ४६ लाख ९२ हजार नौ सय, सीओटीको लागि एक करोड ४० लाख ७८ हजार सात सय र टीओटीको लागि दुुई करोड ८१ लाख ५७ हजार चार सय रुपैयाँ तोकिएको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सी म्यानेजरहरूलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढी सहभागिता बढाउनका लागि कम्पनीबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताएका थिए । यसका साथै कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरू आधारशीला भएकाले कम्पनीमा कार्यरत सम्पूर्ण अभिकर्ताहरूलाई पनि धन्यवाद प्रदान गरेका थिए ।