काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बाबजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रूपमा रहेको र अहिले हासिल गरेको उपलब्धिभन्दा धेरैमाथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको कुरा समेत बताए । उनले ग्राहकमैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न सञ्चालक समिति सदैव तयार रहेको बताए । नेपाल लाइफको टिम बीमा उद्योगमा नै सबैभन्दा उत्कृष्ट रहेको र यस टिमको परिचालनले उद्योगमा आमूल परिवर्तन ल्याउनेमा आफू निर्धक्क रहेको र सो लक्ष्य प्राप्तिका निम्ति सहजकर्ताको भूमिका निर्वाह गर्न सञ्चालक समिति सकारात्मक रहेको बताए । यस सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकाश र बीमाको पहँुचलाई आम नागरिक बीच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । समस्त सरोकारवालाहरूलाई उच्चतम प्रतिफल प्रदान गर्ने अभिप्रायका साथ कम्पनीले लगानीलाई विविधिकरण गर्दै लगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । बैंकमा तरलता बढ्दै गर्दा लगानीको प्रतिफलमा कमी नआओस् र लगानीको प्रतिफल झन् वृद्धि होस् भन्ने हेतुलेनै कम्पनीले शिक्षा, हाइड्रोपावर तथा जग्गाहरूमा नेपाल बिमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशिकाको अधीनमा रहेर लगानी गर्दै आएको बताए । साथै कम्पनीको गौरवशाली इतिहासलाई कायम राख्दै बीमा बजारको विस्तारमा सम्पूर्ण नेपाल लाइफकर्मीलाई लाग्न पनि आग्रह गरे ।
कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरू, कर्मचारीहरू तथा समस्त सरोकारवालाहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । आमनेपाली नागरिकबीच अझै पनि बीमा सम्बन्धी सचेतना पर्याप्तरूपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको बताए । कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरू मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको बताए । लगानीको प्रतिफललाई उच्च राख्न लगानी विविधिकरणलाई केन्द्रविन्दुमा राख्दै विभिन्न कार्यहरू गरेको कुरा समारोहमा व्यक्त गरे । कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्नका निम्ति विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बीमा बजारको उत्कृष्ट टिमको रुपमा नेपाल लाइफको टिम परिचित रहेको र कम्पनीद्वारा निर्धारण गरिएको लक्ष्य सहजै प्राप्त हुनेमा पनि आफू विश्वस्त रहेको बताए । कम्पनीले निर्धारण गरेको लक्ष्य प्राप्तिका निम्ति चाहिने सम्पूर्ण पूर्वाधार निर्माणमा कम्पनी लागि परेको समेत बताए । कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइजेसनको कार्य थालनी गरिसकेको बताए । निकट भविष्यमा बीमितहरूले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरू प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरूले घरै बसीबसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा बताए ।
कार्यक्रममा नेसनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरे । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिइएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवनबीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको लिगेसीलाई थप उचाइमा पुर्याउन कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेसनल सेल्स हेड उमापति पोखरेलले बताए ।