विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशमा उत्पादित सामग्रीको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् । उद्योग संगठन मोरङद्वारा आयोजित, विराट एक्स्पो–२०२५’ को समापन कार्यक्रममा उनले स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पुँजीको विकास हुनका साथै मुलुकमा समृद्धि कायम हुने बताए ।
यस्तै, मुख्यमन्त्री कार्कीले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनामा आकर्षण वृद्धि भएको चर्चा गर्दै प्रदेश सरकारले उद्योग स्थापनाका लागि आवश्यक नीति, कानुनको व्यवस्था गर्नुका साथै उद्यमीहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । यस्तै, उनले प्रदेश सरकारले आगामी २०८२ वैशाख १८ र १९ गते गर्ने भनिएको लगानी सम्मेलनका लागि तयारी सुरु गरेको जानकारी दिँदै यसमा सहभागी हुन विभिन्न उद्योग संघसंगठनलाई आग्रह गरे । कार्यक्रममा उनले उद्योगी व्यापारीहरूले जग्गा उपलब्ध गराएमा विराटनगरमा स्थायीरूपमा प्रदर्शनी स्थल निर्माण गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा सङ्घीय सरकारका उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चितिका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीहरूलाई आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन यो एक्स्पोले निकै मद्दत पु¥याएको बताए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रका बजार चलायमान गर्न एक्स्पोले सहयोग गरेको उल्लेख गरे । माघ १२ गतेदेखि एक्स्पो सञ्चालन भएको एक्स्पो सोमबार सकिएको हो । एक्स्पोका अवसरमा विभिन्न उद्यमी तथा व्यापारीहरूलाई सम्मान समेत गरिएको थियो । एक्स्पोमा दुई सय ६८ बटा स्टलमा स्वदेशी तथा भारत, बङ्लादेश, पाकिस्तानका उत्पादनहरू राखिएको थिए ।