काठमाडौं । भारतीय रुपैयाँ (भारु) अहिलेसम्मकै कमजोर बनेको छ । फेब्रुअरी ३ सोमबारका दिन भारु अमेरिकी डलरको तुलनामा ६७ पैसा घटेर अहिलेसम्मकै सस्तो मूल्य तय भएको हो । प्रतिडलर भारु ८७ रुपैयाँ २९ पैसा कायम भएको थियो ।
विज्ञहरुले ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा कर लगाएको कारण भारतीय मुद्रामा पनि दबाब परेको बताएका छन् । ती मुलुकसँगको व्यापारमा अमेरिकाले कर लगाएको विषयलाई विदेशी मुद्रा कारोबारीहरुले विश्वव्यापी व्यापार युद्धको पहिलो चरण भनेका छन् । यसबाहेक भू–राजनीतिक तनाबले पनि अमेरिकी डलर बलियो बन्दै गएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ मा क्यानडा, मेक्सिको र चीनसँगको व्यापारमा अतिरिक्त कर लगाउने घोषणा गरेका थिए । ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यसबाहेक फ्लोरिडामा आयोजित एक कार्यक्रमा भारत, चीन र ब्राजिलजस्ता देशसँगको व्यापारमा उच्च कर लगाउने धम्की दिएका थिए । हालसम्म भारतमाथि थप कर भने लगाइसकेका छैनन् ।
यसबाहेक ट्रम्पले ब्रिक्स देशहरुले आफ्नै मुद्रा बनाउने विषयमा छलफल अगाडि बढाएमा ती मुलुकहरुसँगको व्यापारमा एक सय प्रतिशत कर लगाउने धम्की दिएका थिए ।