धन बहादुर जप्रेल
कञ्चनपुर, साउन ६
कञ्चनपुरको महकाली नगरपालिका वडा १ चाँदनीमा पर्ने मलेरिया नालामा पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले लापरबाही गर्दा विगत चार वर्षदेखि पुल निर्माण हुनसकेको छैन । निर्माणको ठेक्का पाएको चार वर्ष भइसक्दा पनि हालसम्म एक मात्र पाइल जग निर्माण गरिएको छ तर त्यो पनि जमिनमुनि मात्रै निर्माण भएको स्थानीयले बताएका छन् । बाहिरी देखिने हिसाबले कुनै अर्को काम हालसम्म भएको छैन । आर्थिक वर्ष २०७३/०७४ मा महाकाली नगरपालिका १ चाँदनीको गौरीशंकर सामुदायिक वननजिक २५ मिटर लामो पक्की पुल निर्माणका लागि शंकरमाली अकेला जेभी काठमाडौँले ठेक्का पाएको थियो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट ठेकेदार कम्पनीले ४९ करोड ४६ लाख ९ हजार ५ सय ७१ रुपैयामा निर्माण गर्ने सम्झौता गरेको थियो । समयमै पुल निर्माण नहुँदा स्थानीय नालामा काठको साँघोबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ठेकेदारले पुल निर्माणका ठग्दा आफूहरुले जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीयको गुनासो छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका स्थानीय गोपाल भट्टले समयमै पुल निर्माण कार्यका लागि सम्बन्धीत निकायबा ताकेता गर्दा पनि समयमै पुल काम अघि नबढाईएको बताए ।
‘पुलको जग नै पुरा भएको छैन, ‘उनले भने, ‘समय सीमा सकिएपनि काम पुरा भएन ।’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन कुमार बमले पुल निर्माणका लागि निर्माण कम्पनीलाई म्याद थप गरिएको बताए । ‘नयाँ ऐन अनुसार ०७७ पुस २७ सम्म म्याद थप भएको छ, ‘उनले भने, ‘हालसम्म कामको प्रगति २७ प्रतिशत भएको छ ।’ पुल निर्माणका लागि कम्पनीलाई कार्यालयका तर्फबाट ताकेता गरिएको कार्यालय प्रमुख बमले बताए ।