काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औँ संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले माघ २४ देखि २८ गतेसम्म गर्न लागेको क्यान इन्फोटेकको तयारी पूरा भएको जनाएको हो ।
३०औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह–शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम रहेको छ । त्यस्तै, क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस–पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् । प्रदर्शनीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रालि, म्याक्स इन्टरनेसनल, नागमणि इन्टरनेसनल प्रालि, मेगाटेक ग्रुप, हाइ–टेक इन्जिनियरिङ प्रालि (डिजिकम), पाइन ओबरसिज प्रालि, सुबिसु केबलनेट प्रालिलगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै, अन्तर्राष्ट्रियरूपमा विट्सा, असोसियो, टीओए सफ्टवेयर कर्पलगायतको सहयोग रहेको छ ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा क्यान इन्फोटेकले सहयोग पुग्ने बताइन् । प्रदर्शनीमा राखिने प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने उनको भनाइ थियो । क्यान इन्फोटेकको शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आकर्षणका रूपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरू, एप्सन ब्रान्डका प्रिन्टरलगायत विशेष प्रदर्शन गर्नेछ ।
यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिनेछ । यसअन्तर्गत सर्वसाधारणका लागि एक सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्षमुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था रहेको महासंघका महासचिव चन्द्र विलास भुर्तेलले जानकारी दिए ।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक छलफलका कार्यक्रम हुनेछन् । क्यान इन्फोटेकमा ब्रान्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्ट समेत भृकुटीमण्डपमै रहने गरी तयार थालिएको छ ।
साथै, इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् एक सय २० बढी स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ । राजधानीमा माघ २४ देखि पाँच दिनसम्म चल्ने इन्फोटेकको प्रादेशिक तथा जिल्ला संस्करणको रूपमा बाँकेमा माघ १० देखि २२ सम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म आयोजना गरिएको थियो । त्यस्तै, बर्दियामा मिनी क्यान इन्फोटेक माघ ११ देखि २४ सम्म भइरहेको छ भने अन्य शाखाहरूमा पनि छिट्टै गर्नेगरी तयारी गरिएको महासंघले जनाएको छ ।