काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (एनएडीए) बीच नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउने गरी सम्झौता भएको छ ।
श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्नेगरी सम्झौता भएको हो । सम्झौताअनुसार आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम र रोजगारीका लागि अवसरहरू सिर्जनागरी आवश्यक सुधार समेत गर्ने, दुवै संस्थाहरूले नेपालको अटोमोबाइल उद्योगहरूको वृद्धिका लागि नवीनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने, यस्तो पारस्परिक सहकार्यमार्फत उद्योगको आवश्यकताहरू र कर्मचारीहरूको क्षमताबीचको खाडल पूरा गर्ने उल्लेख छ ।
यस्तै, लेबल एकबाट तालिमको सुरुआत गर्ने र क्रमशः लेबेल दुईमा जाने, आवश्यकताअनुसार पाठ्यक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएन्टेसन दिलाउने, तालिम र पाठ्यक्रम निर्माणका लागि एनएभीटीले एनएडीएसँग सहमति गरी अघि बढ्ने सहमति भएको नाडाले जनाएको छ ।