काठमाडौं । निजी क्षेत्रका तीन ठूला संस्थाले मुलुकमा लगानीको वातावरण नबिगार्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार संयुक्तरूपमा विज्ञप्ति जारी गरी कोशी प्रदेशको पाथीभरा (मक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लामा बन्द हडताल भइरहेको छ । बन्द हड्तालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको र सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । यस्ता गतिविधिले मुलुकको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने उनीहरूको भनाइ छ । ‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । उद्योग, व्यापार, बैंकिङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चारलगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्याएको छ’, विज्ञप्तिमा भनिएको छ ‘तर विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहरूलाई यस विषयमा गम्भीर बन्न, विकास निर्माणको कार्यलाई सहज र निर्वाधरूपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछौँ ।’
पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथीभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने वृद्धवृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनाका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवर्द्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा जनाइएको छ ।
यस्तै, केबलकार निर्माणका लागि स्थानीय तह र स्थानीयहरू सहमत रहेको र बन्नुपर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केबलकार बन्न दिनुहुँदैन भनेर बाह्य हस्तक्षेपसहित केबलकार निर्माणमा अवरोध हुनुलाई दुःखद् मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रूपमा निजी क्षेत्रले लिएको समेत विज्ञप्तिमा उल्लेख छ । उनीहरूले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुनाका साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरूलाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । यसैगरी, उनीहरूले समस्याको समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मकरूपमा ग्रहण गर्न र पाथीभरा (मक्कुम्लुङ) केबलकार परियोजनालाई सहज र निर्बाधरूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई अपिल गरेका छन् ।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका कोशी र गण्डकी र कर्णाली प्रदेशका सभापतिहरूले पनि मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् ।