ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा एकसाता लामो बन्द भएको यातायात खुलेको छ । पाथीभरा केबुलकारको निर्माण सुरु गरिएको काम अहिले स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित भएको हो । केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट सहमति भएको थियो ।
पाथीभरा केबुलकार परियोजनाको सुरु भएदेखि नै विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थालेपछि थप द्वन्द्व बढेको थियो । निर्माणको काम थालेपछि सङ्घर्षरत पक्ष र प्रहरीबिच झडप भएका क्रममा प्रहरीले गोली चलाउँदा केही विरोधी गम्भीर घाइते भए भने अन्य दुवै पक्षका सामान्य घाइते भएका थिए । मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबुलकार खारेजी सङ्घर्ष समितिले सोही विषयलाई लिएर द्वन्द्व चर्किएपछि मेची राजमार्ग र तमोर कोरिडोर सडकमा माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका थिए ।
बन्दले ताप्लेजुङ, इलाम, झापा, पाँचथर, मोरङसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि सरकारले बनाएको वार्ता टोली र आन्दोलनरत पक्षबिचको वार्तामा सहमति जुटेको हो । माघ २७ गते पाथीभरा केबुलकारको स्टेसन लगायतका सन्दर्भमा पुनः वार्तामा बसी विस्तृत छलफल गर्नेसमेत सहमतिमा उल्लेख गरिएको छ । सरकारले निःशुल्क र प्रभावकारी रूपमा आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ ।
सरकार र आन्दोलनरत पक्षबिचको सहमतिसँगै बन्द खुलेपछि ताप्लेजुङदेखि बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु बुधवार बिहानैदेखि सुचारु भएका पाथीभरा यातायात प्रालिका फुङ्लिङस्थित काउन्टर इन्चार्ज शरण लिम्बूले जानकारी दिए ।