काठमाडौँ । काठमाडौँमा थाल ठटाएर स्वर्गद्वारी गुठीका मोही किसानले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले बुधवार प्रदर्शनका क्रममा करिब एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन सुरु गरेका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबिच २०८० चैत ७ गते सहमति भए अनुसार सरकारले स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरु गर्ने उल्लेख गरिएको थियो । उनीहरूले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै काठमाडौँमा आन्दोलन सुरु गरेका हुन् ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौँको आन्दोलनमा यदि सुनुवाइ भएन भने दाङ फर्केर दाङ बन्द गर्ने कार्यक्रम तयारी भएको चेतावनी दिएको छ । स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाहा १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाहा मोही कायम भएको जग्गाको स्वामित्व आफूहरूले पाउनुपर्ने मोही किसानको माग छ ।