काठमाडौं, साउन ६
नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष (प्रथम संशोधन) नियमावली, २०७७ लागू गरेको छ । बोर्डका अनुसार विशिष्टीकृत लगानी कोषसम्बन्धी नियमावलीमा विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी डेब्ट इन्स्टुमेन्ट र ऋणलाई समावेश गर्न साविकको विशिष्टीकृत लगानी कोष नियमावली २०७५ मा प्रथम संशोधन गरी नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिई यही साउन एक गते देखि उक्त नियमावली लागू गरिएको हो ।
नियमावली अनुसार विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानुनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । यसैगरी प्राइभेट इक्वीटी फण्डको दायरा विस्तार गरी प्राइभेट इक्वीटीको परिभाषामा साधारण सेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरूप भएको उपकरण (डेब्ट इन्स्टुमेन्ट) वा ऋण वा स्वः पँुजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनी थप गरिएको, भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरूप भएको उपकरण (डेब्ट इन्स्टुमेन्ट) वा ऋण लगानी गर्ने कोष समेत थप गरिएको बोर्डको भनाइ छ ।
संसोधित नियमावलीअनुसार योग्य लगानीकर्तामा द्विपक्षीयवा बहुपक्षयीय अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको जानकारी समेत बोर्डले दिएको छ ।