काठमाडौं । विदेशमा वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने कार्यको थालनी गरिएको छ । नेपाली राजदूतावास मस्कटले पहिलो पटक ओमानको सलालामा वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने कार्यको शुभारम्भ गरेको हो ।
ओमनका लागि नेपालका राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले गत शुक्रबार संयुक्तरूपमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने कार्यको शुभारम्भ गरेका थिए । नेपाली राजदूतावासले ३१ जनवरीदेखि १ फेब्रुअरीसम्म सलालामा आयोजना गरेको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा वैधानिकीकरण श्रम स्वीकृति पनि प्रदान गरिएको हो । विभिन्न माध्यमबाट ओमान पुगेर वैधरूपमा कम्पनीमा कार्यरत रहेका नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास, मस्कटले नै वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रममा राजदूत अर्यालले वैधानिकीकरण श्रम स्वीकृतिको सेवाबाट ओमानस्थित नेपाली नागरिकहरूलाई सहज हुने विश्वास व्यक्त गरे । साथै, राजदूतावास नेपाली श्रमिकहरूको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता समेत जनाए । विभागका महानिर्देशक खत्रीले विनाश्रम स्वीकृति विदेशमा काम गर्न जान नहुने बताए । साथै, उनले श्रम स्वीकृतिको आवश्यकतालगायतका विषयमा नेपाली श्रमिकहरूलाई जानकारी दिएका थिए । मस्कटबाट करिब ११ सय किलोमिटर टाढा रहेको सलालामा नै राहदानी नवीकरण, वैधानिकीकरण श्रम स्वीकृति, विभिन्न जानकारीसहितको सेवा राजदूतावासले नियमित प्रदान गर्ने जनाइएको छ । कार्यक्रममा सलालास्थित नेपाली सोसल क्लबका प्रतिनिधिहरू, स्वयंसेवकलगायत नेपाली संघसंस्थाको कार्यक्रम अवधिभर सक्रिय सहभागिता र सहयोग रहेको थियो । वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर नरेश प्रसाद दासले सबै प्राविधिक व्यवस्था मिलाएका थिए ।