काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–५ सुन्दरबस्ती घर भई ललितपुर, ललितपुर महानगरपालिका–१० धापाखेल बस्ने ४४ वर्षीय गमबहादुर पौडेल र काठमाडौं महानगरपालिका–१६ पकनाजोल बस्ने ४४ वर्षीया भवानी तुलाधार रहेका छन् ।
जल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी भवानीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ पकनाजोलबाट पक्राउ गरेको हो । साथै, सोही कार्यालयबाट खटिएको प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका गमबहादुरलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ चारदोबाटोबाट पक्राउ गरेको हो ।
पक्राउमध्ये गम बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने भवानीलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जानकारी दिएको छ ।